१९ मंसिर, मोरङ । मुसाको बिज्याईबाट दिक्क नहुने सायदै कम होलान् । त्यस्तै फटाइँ गर्ने मुसालाई मारेर तरकारीको रुपमा छाक टार्ने तराईको केही जाति विशेष समुदायको पुरानै चलन हो ।
उनीहरु मुसाको मासु तरकारीको रुपमा खाने गर्छन् । मुसालाई आहार बनाउनकै लागि धेरै मेहनत गर्छन् । परम्पराकै रुपमा ती समुदायले मुसाको सिकार गर्छन् ।
सीमान्तकृत तथा अति विपन्न समुदायका मानिस मासु खाने प्रयोजनका लागि मुसाको सिकार गरेर तरकारीको गर्जो टार्ने गरेको पाइन्छ ।
गहुँ छर्ने तयारी भइरहेका खेतमा उनीहरु जान्छन् र मुसाको दुलो पत्ता लगाएर मुसो भएसम्म खनेर मार्छन् । मोरङको पथरी शनिश्चरेका सन्थाल जातिका पल्टाराम मुर्मु, गोपीलाल मुर्मु र पञ्चु हस्दा मुसा सिकारको खोजीमा शिशवनी जहदाबाट जिल्लाका विभिन्न ठाउँका खेतमा मुसाको दुलो खोल्नेकाम उनीहरुको दिनचर्या जस्तै हो ।
उनीहरु दोहलु, सिरिसे, बयवन, रिगुवा, शनिश्चरे, कीर्तिपुरलगायत क्षेत्रका खेतमा मुसा मार्दै दिन बिताउने गर्छन् । मुसाको परिकार मीठो हुने भएकाले खाली समयको सदुपयोग गर्न मुसाको सिकारमा आएको पल्टा मुर्मुको भनाइ छ ।
तराईवासी सन्थालसहित, बाँतर र ऋषिदेव समुदायका मानिस मुसा मासु खाने प्रयोजनका लागि मुसालगायत स्याल, खरायो, वनबिरालो र न्याउरी मुसाको सिकार गर्ने गरेको पल्टाराम मुर्मुको भनाइ छ । विशेष गरी मङ्सिर, पुस, माघ, फागुन, चैत, वैशाखमा आफूहरुले विभिन्न सिकार गर्ने गरेको पथरी शनिश्चरे–११ का पञ्चु हस्दाको भनाइ छ ।
मुसाले खेतमा खनेको मलिलो माटो हेरेर आफूहरुले मुसाको दुलो पत्तो लगाउने गरेको हस्दाको भनाइ छ । यस्तै दोहलुकाका झङ्ग्राहा ऋषिदेवसमेत आफ्ना २ जना नातीसंगै मुसाको सिकारमा हिडने गर्दछन ।
बजारमा बिक्री हुने माछा मासु अत्यन्त महंगो भएकाले छाक टार्न मुसा मार्न आएको झङग्राहा ऋषिदेवको भनाई छ । मुसाको सिकार गर्ने परिपाटिले एकातिर अन्नबालीको सुरक्षा त हुन्छ नै अर्कोतर्फ विपन्न समुदायका मानिसहरुले पोषणयुक्त आहारा समेत पाउने गरेको मुसाका सिकारीहरुको भनाई छ ।
No comments:
Post a Comment