Friday, December 2, 2016

सेनाले विमानस्थल बनाउने

विपत् वा अन्य प्राविधिक कारणले त्रिभुवन विमानस्थल बन्द हुने अवस्था आए वैकल्पिक रूपमा प्रयोग गर्न मिल्ने
नेपाली सेनाले आपतकालीन अवस्थामा प्रयोगमा ल्याउने गरी सिन्धुलीको चारनाथ भिमानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ । मुलुकमा अप्ठ्यारो पर्दा अत्यावश्यक हवाई सेवा सुचारु गर्न सेनाले वैकल्पिक विमानस्थल निर्माण योजना बनाएको हो ।
विपत् वा अन्य प्राविधिक कारणले त्रिभुवन विमानस्थल बन्द हुने अवस्था आए वैकल्पिक रूपमा प्रयोग गर्न मिल्ने गरी विमानस्थल बनाउन लागेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले जनाए । उनका अनुसार विमानस्थल बनाउने भनिएको क्षेत्रमा हाल सेनाले हवाई जम्पलगायत विभिन्न प्रशिक्षण दिँदै आइरहेको छ । भिमानमा सेनाको करिब ४ सय १५ बिघा जमिन छ ।
विमानस्थल बनाउन लागिएको दक्षिणी भागमा खिम्ती–ढल्केवर प्रसारण लाइन छ । उक्त प्रसारण लाइन पूर्वी भागबाट बिजुली काठमाडौं ल्याउन, माथिल्लो तामाकोसीलगायत आयोजनाको बिजुली पूर्वमा लान र भारतबाट आयात हुने बिजुली काठमाडौं ल्याउन निर्माण गरिएको हो । प्रसारण लाइन नहटाउने गरी सेनाले उत्तरतर्फको ३० बिघा सरकारी जग्गा लिने तयारी गरेको छ । ‘उत्तरतर्फको जग्गा प्राप्त भयो भने निर्माण कार्य सहज रूपमा अघि बढ्छ,’ प्रवक्ता कार्कीले भने । उनले ३० बिघा जग्गा प्राप्तिका लागि गृहकार्य भइरहेको जनाए ।
भौगोलिक स्थितिका कारण त्यहाँ बन्ने विमानस्थलबाट मध्यमस्तरका विमान मात्र अवतरण र उडान सम्भव हुन्छ । ठूला विमानलाई भने वरिपरिका चुरे डाँडाले अवरोध गर्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ । ‘यसका प्राविधिक पक्ष अध्ययन हुन बाँकी छन्,’ कार्कीले भने । निर्माण प्रक्रिया अघि बढिरहेको र विस्तृत इन्जिनियरिङ अध्ययनपछि निर्माणको लागत यकिन हुने उनले बताए । एक वर्षअघि टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलको रनवेमा बिग्रँदा अन्तर्राष्ट्रिय उडानहरू अवरुद्ध भएका थिए । वैकल्पिक विमानस्थल नहुँदा नेपाली आकाशमा समस्या परेका बेला हाल अन्तर्राष्ट्रिय विमानहरू रि–रुट गरी भारतको पटनालगायत विमानस्थल पुर्‍याइन्छ ।

No comments:

Post a Comment